‘ए ङाला ह्राङ्बा माया’ पुष २० मा विशेष प्रदर्शन हुने

हेटौंडा – मुनसन सुपर स्टार मुभिज प्रालिको ब्यानरमा निर्माण गरिएको तामाङ  भाषाको कथानक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’को विशेष प्रदर्शन हुने भएको छ ।

चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ टिमले शनिबार बागमती प्रदेशको राजधानी हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुष २० गते बिहान १० : ३० बजे हेटौंडाको ओम्याक्स हलमा चलचित्रको विशेष पहिलो प्रदर्शन हुने जानकारी गराएको थियो ।

प्रेम कथामा आधारित चलचित्रको ट्रेलर सोही दिन एचएमएम मिडिया युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । मकवानपुरको इन्द्रसरोवरको हुमानेमा छायांकन गरिएको चलचित्रको २४ लाख लगानीमा निर्माण सम्पन्न भएको नायक तथा निर्देशक हुत्त संजय लामाले जानकारी दिए ।

चलचित्रमा तामाङ समुदायको मौलिक कला, संस्कृति, सभ्यतालाई समावेश गर्दै यसको संरक्षण र प्रवद्र्धन गर्ने जमर्को गरिएको निर्माण पक्षको दाबी छ ।

हुत्त सन्जय लामाको निर्देशन रहेको  चलचित्र ‘ए ङाला ह्राङ्बा माया’को निर्माण लोसाङ लामा र इकेश लामाले गरेको छ।  चलचित्रमा अभिनेत्री सुनिता लुङ्बा, नवनायक हेम कुमार तितुङ,  तारा थोकर ,प्रज्मि बोम्जन, हिरा बहादुर मोक्तान, मायादेवी मोक्तान, भुइसाल लामा, मिलन लामा, उर्गेन लामा, र कुमार लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा बिस्वजंग माझीले सह–निर्देशकको भुमिका निभाएका छन् । प्रज्वल राउतको छायाँकनमा बनेको चलचित्रमा सागर दोङ तामाङको संगीत रहेको छ ।  चलचित्रको विशेष प्रिमियरपछि यसलाई देशैभर विभिन्न स्थानमा प्रदर्शन गर्ने निर्माण टोलीको योजना छ ।

SHARE