प्रधानमन्त्री ओली चीन प्रस्थान गर्दै

फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गर्दैछन् । उनी चीनमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (SCO) शिखर सम्मेलनमा सहभागी हुन लागेका हुन् । नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार हो ।

पाँच दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान चङ्गलगायतसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भदौ १६ गते उनले थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यस क्रममा उनले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति, कम्बोडिया, लाओस र भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेट गर्नेछन् ।

भ्रमणको अन्तिम दिन भदौ १८ गते प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलले बेइजिङमा हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्ध विजयको ८०औं वार्षिकोत्सव समारोहमा पनि सहभागी हुनेछन् । सो कार्यक्रममा ५० भन्दा बढी मुलुकको सहभागिता रहनेछ ।

प्रधानमन्त्री ओलीसँगै पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू रघुजी पन्त र बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री डा. युवराज खतिवडा, छबिलाल विश्वकर्मा तथा उच्चपदस्थ सरकारी अधिकारीहरू भ्रमण दलमा रहेका छन् ।

SHARE