आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने

दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ ।ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम थियो ।कुल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले माग गरेको समय सकिएकाले अब सडक नरोकेरै काम गर्न भनिएको बताए । ढिस्को होचोमात्रै बाँकी रहेकाले हेरेर काम गर्न मिल्ने उनको भनाइ छ ।त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटर यो वर्ष भत्काउन सुरु गरिएको हो ।

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो ।सो सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो ।

SHARE