देशलाई शान्ति र लोकतन्त्रको बाटोमा अघि बढाउने दायित्व कांग्रेसको हो : सिटौला

नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्ने दायित्व कांग्रेसको भएको बताएका छन् । आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुसँगको परिचयात्मक कार्यक्रममा नेता सिटौलाले राजनीतिक दल, नागरिक समाज र देशलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको नेतृत्वदायी दायित्व भएको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणाली, यसको शासकीय स्वरुप, तीन तहको सरकार छ । लोकतान्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने संविधानको लक्ष्य हो ।

हामीले राज्यका सम्पूर्ण संयन्त्रहरुलाई जनताको हितमा, संविधान बमोजिम प्रयोग गरेर समुन्नत राष्ट्र निर्माण गर्न सक्नुपर्छ,’ उनले भने ।उनले अहिले संसद्को पहिलो दल भएको हिसाबले पनि कांग्रेसमाथि बढी जिम्मेवारी भएको बताए ।

‘जनताको पक्षमा हामीले जानेको सर्वोत्तम कार्य के हो त्यही कुरा गर्दै अघि बढौँ । नेपाली कांग्रेसको अरु पार्टीको भन्दा अलि बढी दायित्व छ भन्ने मलाई लाग्छ । हामी संगठनले थोरै हौँ अथवा धेरै ।

अन्य पार्टी भन्दा पार्टीको दायित्व सदैव बढी हुन्छ,’ उनले भने, ‘सिंगो मुलुकलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व कांग्रेसको काँधमा रहेको छ ।’नेता सिटौलाले राज्यका सम्पूर्ण संयन्त्रहरुलाई संविधान बमोजिम जनताको हितमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।

SHARE