एकीकृत समाजवादीले पठायो दुई मन्त्रीको नाम

नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम पठाएको छ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयमा पठाएका छन्।

बझााङबाट चुनाव जितेका जोशी प्रतिनिधि सभाको शिक्षा समितिका सभापति थिए। बुढाले भने डोल्पाबाट चुनाव जितेका हुन्। उनी २०७६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका थिए। एकीकृत समाजवादीबाट मन्त्री भएकाहरूले पनि आजै शपथ खाने भएपछि पौने ६ बजेका लागि तय भएको शपथ कार्यक्रम केही समय पछि सरेको छ। नेकपा एकीकृत समाजवादीले शर्तसहित सरकारमा जाने निर्णय गरेको थियो। लगत्तै अध्यक्ष नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीसँगको छलफलपछि नेकपा एकीकृत समाजवादीले पनि आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बुझाएको हो।प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन्। समाजवादी पार्टी पनि सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको यो सरकारले सुविधाजनक बहुमत पाएको छ। सत्ता गठबन्धनमा सामेल हुने निर्णय गरेको जसपाले भने अझै मन्त्री पठाउन सकेको छैन।

SHARE