वीरेन्द्रनगर नगरपालिकाले ठाउँ खाली गर्न भनेपछि व्यवसायीहरु धर्नामा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ठाउँ खाली गर्न भनेपछि व्यवसायीहरु धर्नामा बसेका छन्।व्यवसायीहरूले सुर्खेत उद्योग वाणिज्य संघको गेटमा मंगलबार धर्ना दिएका हुन्।

उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई तत्काल बिनाविकल्प हटाउन नहुने भन्दै सर्वदलीय बैठक राखेर सहमति गराउने आश्वासन दिएको थियो।अहिलेसम्म पनि बैठक नराखेको भन्दै व्यवसायीहरु धर्ना बसेका हुन्।

वीरेन्द्रनगर वडा नम्बर ६ र ८ का सार्वजनिक जग्गामा व्यवसाय गरिरहेकाहरुलाई ठाउँ खाली गरिदिन भन्दै नगरपालिकाले गत माघमा अन्तिम पटक ३५ दिने सूचना जारी गरेको थियो। तर व्यवसायीहरुले भने आफूहरुलाई उचित विकल्प दिए मात्र ठाउँ खाली गरिदिने भन्दै अडान लिएका छन्।

उनीहरुले तत्काल सर्न अर्को ठाउँमा व्यवस्थापन वा स्वयमले व्यवस्थापन गर्न निश्चित समय दिन नगरपालिकालाई भनेका छन्। नगरपालिकाले भने विकल्प दिन नसकिने बताएको छ। नगरपालिकाले व्यवसायीहरुले अटेरी गरे बुधबारदेखि डोजर लगाएर हटाउने चेतावनी पनि दिएको छ।

‘कोरोना कालदेखि शिथिल परेको व्यवसायलाई सरकारले मलजल गरी उकास्नुपर्नेमा नगरपालिकाले हठात लखेट्न खोज्नु खेदजनक छ, स्थानीय सरकारदेखि केन्द्रीय सरकारलाई कर तथा नगरविकास समितिलाई हरेक महिना जग्गा भाडा दिइरहेको परिस्थितिमा अतिक्रमण गरेको भन्दै हटाउन खोज्न लज्जास्पद हो,’ वस्तुगत समितिहरुले निकालेको ध्यानाकर्षण पत्रमा भनिएको छ।

SHARE