हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लामा ७ हजार २ सय परिवारले लगाएको बालीको प्रारम्भिक क्षतिको अनुमान अनुसार रु ४२ करोड ६३ लाख रहेको उक्त कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । सबैभन्दा धेरै पनौती नगरपालिकामा रु ९ करोड ४१ लाख, धुलिखेल नगरमा रु ५ करोड ४८ लाख बराबरको क्षति भएको छ ।
यसैबिच जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपन्छी हताहत भएका अनुमान गरिएको छ । सबैभन्दा धेरै पनौती नगरमा २ हजार १०० पशुपन्छी मरेका छन् । जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख निशान्त गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट तथ्याङ्क सङ्कलन जारी छ । जिल्लाका सबै भागमा सञ्चार सम्पर्क कायम नभएका कारण यकिन विवरण प्राप्त हुन केही दिन लाग्ने उनले बताए ।
जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाएका, पाँच जना बेपत्ता रहेका तथा ७५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षाजन्य विपद्मा परी काभ्रेपलाञ्चोकमा ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।