फूलपातीदेखि तीन चलचित्रको त्रिपक्षीय भीडन्त, बाध्यता कि ‘इख’को लडाइँ ?, कुन फिल्मले मनाउँला ‘फूलपाती’ ?

भोलि, अर्थात् फूलपाती । फूलपातीका दिन नेपाली चलचित्र (कलिउड) बजारमा तीन वटा चलचित्र आउँदैछन् । विराज भट्टको ‘१२ गाउँ’, दिपकराज गिरीको ‘छक्का पञ्जा ५’ र जितु नेपालको ‘ज्वाईँ साब’ एकअर्काबीच भिड्न लागेका हुन् ।

धेरैले फूलपातीका दिन चलचित्र ‘रिलिज’ गर्दा दाम कमाउने सोँच राखेका हुन्छन् । तर नतिजा कस्तो आइरहेका छन् दर्शकलाई थाहा छ । यसपटक पनि यी तीन चलचित्र राम्रैसँग भिड्न लागेका छन् । फूलपातीका दिन आउन लागेका यी चलचित्रमध्ये कसले ‘फूलपाती’ मनाउँला ? वा कुन चलचित्रको ‘कालरात्री’ होला ? हामीले यहाँ छोटो चर्चा गर्ने प्रयास गरेका छौँ ।


कुन चलचित्र कस्ता ?
१२ गाउँ : यो ‘एक्सनप्रधान’ चलचित्र हो । कलाकार विराज भट्ट निर्देशित यस चलचित्रको ट्रेलर हेर्दा एक्सन मन पराउनेका लागि बनेको जस्तो देखिन्छ । ‘१२ गाउँ’ नामक एक प्राचीन थलोको अत्याचारी शासकविरुद्ध लड्न एक परिवर्तनकारी योद्धाले लडेको लडाइँको कथा यसमा समेटिएको छ ।

नयाँ के छ त ? यो प्रश्न स्वभाविक रूपमा आउँछ । नेपाली चलचित्रमा यसअघि ‘भरुवा बन्दुक’ पड्किन्थे, यसमा भने ‘मेसिन गन’ पड्किएको देखिन्छ । यो नयाँ हो । द्वन्द्व र कलरिङ सकारात्मक पक्ष देखिन्छन् । साउथ इन्डियन चलचित्रको आभास गराउने प्राविधिक पाटाहरू देखिन्छन् । ट्रेलरका अनुसार संवादहरू भने पुराना स्टाइलका सुनिन्छन् ।

विराज भट्टले नेपाली चलचित्रमा ‘एक्सन’को कमी पूर्ति गर्न फिल्म निर्माण गरेको बताएका छन् । ‘नेपाली फिल्मा एक्सन हराए जस्तो भयो । त्यो नेपाली फिल्म इन्डस्ट्रीको लागि दुर्भाग्य थियो’, उनले भने, ‘दशैँमा अरू दुईटा सिनेमा भन्दा मेरो फिल्म सुपर हिट भइहालोस् भन्ने मात्र मेरो चाहना होइन, मेरो चाहना नेपाली चलचित्रलाई कसरी माथि उठाउने भन्ने हो ।’

भट्टले कमेडी, अर्गानिक भनिने, पारिवारिक जस्ता जानराको चलचित्रको अन्य मुलुकका चलचित्रसँग तुलना नहुने तर एक्सन चलचित्र मिडियाले तुलना गरिहाल्ने भएकाले बनाउन निकै चुनौति रहेको बताए । आफूलाई चुनौतिपूर्ण चलचित्र नै बनाउन मन लाग्ने भएकाले पनि निर्माण गरेको उनको भनाइ छ । उनले दक्षिण भारतीय चलचित्रको एक्सन स्वाद चखाउन त्यहाँका प्राविधिकहरू राखेको बताएका छन् । ‘मैले पैसा भएर साउथका टेक्निसियनलाई राखेको होइन । नयाँ चिज केही दिन सकिन्छ कि भनेर राखेको हुँ’, उनले भने, ‘म एउटा फिल्म बनाएर पैसा कमाइहालौँ अनि भागौँ भनेर लागेको होइन ।’

भट्टले भनेजस्तो उनको चलचित्र ‘सुपर हिट’ हुन्छ कि हुँदैन ? त्यो हेर्न बाँकी छ । उनले नयाँ चिज दिएका छन् कि छैनन्, त्यो फूलपातीका दिन थाहा हुनेछ । अनि कमेडी जानराबाट आएका जितु नेपालको ‘ज्वाईँ साब’ र दिपकराज गिरीको ‘छक्कापञ्जा ५’सँगको भीडन्त जित्ला कि नजित्ला, हेर्न बाँकी छ । यही चलचित्रबाट समीर भट्टको ‘इन्ट्री’ कस्तो होला ? त्यो पनि थाहा हुनेछ ।

ज्वाईँ साब : यो कमेडीप्रधान चलचित्र हो । बसन्त निरौलाको निर्देशनमा बनेको ‘ज्वाईँ साब’मा जितु नेपाल ‘मुन्द्रे’ प्रमुख पात्रका रूपमा देखिएका छन् । जिरे खुर्सानी टेलिसिरियल, छक्कापञ्जा हुँदै उनी ‘ज्वाईँ साब’मा पुगेका हुन् । दिपकराज गिरी र दिपाश्री निरौलासँगको ‘खटपट’का कारण अर्कै चलचित्रमा पुगेका हुन् । नत्र उनी ‘छक्कापञ्जा ५’ मै फूलपातीका दिन देखिन सक्थे ।

ज्वाईँ साबमा मुन्द्रेसँगै अरू कमेडियन पनि छन् । सन्दिप क्षेत्री र हिमेश पन्तले चलचित्रमा भूमिका पाएका छन् । उनीहरूसँगै चलचित्रमा बुद्धि तामाङ पनि देखिएका छन् । उनको पनि पृष्ठभूमि कमेडी नै हो ।

चलचित्रले सामाजिक विषयवस्तुलाई पनि उठान गरेको छ । ट्रेलरमा देखाइएअनुसार विवाहपछि मुन्द्रे विदेश जान लागेका छन् । सुरुवातमा उनका बाले अर्की श्रीमती ल्याउँछिन् । त्यै पनि ‘ब्याज’सहित । कतिपय संवादमा ‘डबल मिनिङ’ लाग्ने पनि छन् ।

पछिल्लो समय चलचित्र चलाउनलाई ‘फण्डा’ गर्ने गरेको आरोप निर्माता, कलाकारलाई लाग्ने गरेको छ । ‘ज्वाईँ साब’ पनि त्यसबाट अछुतो हुन सकेन । ‘एयरपोर्टमा खिचिएको भावकु सिन थियो’, कलाकार जितु नेपालले भने,‘भीडभाडमा नखिचिदिनोस् भन्दाभन्दै कसले खिचेर राखेछ । त्यो कुनै पनि किसिमको फण्डा होइन ।’ उनले एक सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै अब उप्रान्त कोही कसैको विरुद्ध बोल्ने र चर्चा गर्ने नभई चलचित्रको विषयमा मात्र बोल्ने भन्दै दिपकराज गिरीका बारे बोल्न इन्कार गरे ।

पत्रकारहरूसँगको संवादमा कलाकार विजय बरालले ‘ज्वाईँ साब’ दशैँमा हेर्न दर्शकलाई अनुरोध गरे । ‘फिल्ममा कुनै न कुनै तरिकाले नयाँ कथावस्तु, शैली दिन खोजिएको हुन्छ’, उनले भने, ‘ज्वाईँ साबमा नयाँ चिज छ, फिल्म हेर्नुपर्छ ।’

कलाकारहरूले दाबी गरेजस्तो नयाँ चिज छ कि छैन, पूरा चलचित्र हेरेपछि थाहा होला । यद्यपि ट्रेलर हेर्दा कथावस्तु नेपाली युवा विदेशिनुपर्ने र भोग्नुपर्ने समस्याहरू देखाइएको बुझिन्छ । यो भने नौलो कुरा होइन । त्यसको प्रस्तुति फरक र नौलो हुनुपर्छ । दर्शक हल नगई हुँदैन ।

छक्कापञ्जा ५ : ‘वेल्कम टु छक्कापञ्जा वल्र्ड’, यसको ट्रेलर यसरी सुरु हुन्छ । छक्कापञ्जाको सिक्वेन्स पाँचसम्म आइपुगेको छ । व्यापारिक हिसाबले अघिल्ला छक्कापञ्जाहरू सफल मानिएका थिए । त्यो हिसाबले हेर्ने हो भने ट्रेलरमा भनिएझैँ यसले आफ्नो ‘संसार’ बनाएको छ । सामाजिक विषयलाई कमेडीबाट देखाउन खोजिएको यस चलचित्रमा ‘अतिरञ्जना’ भएको भन्ने आरोप पनि छ ।

चलचित्रका निर्देशक दिपाश्री निरौलाले ‘फण्डा’ गरेको आरोप पनि लगाइएको छ । उसो त दिपकराज गिरीले ‘साइबर’ कारबाही हुने घोषणा गरेको पनि चर्चामा आएको छ । उनले ‘चलचित्रको कुनै दृश्य खिचेर आफ्नो सामाजिक सञ्जालमा राखे ती अकाउन्ट बन्द हुने’ बताएका छन् । त्यस्तै उनले अर्का दुई चलचित्रका व्यक्तिले आफ्नो चलचित्रविरुद्ध बोलेको बताएका छन् । ‘एकले अर्कालाई सामाजिक सञ्जाल अनि विभिन्न ठाउँमा किन झारेर बोल्नु वा प्रचार गर्नु ?’, उनले भने, ‘सबैको चलचित्र हेरौँ भनौँ, जाऔँ हेरौँ । हामी अर्कोलाई तानेर नझारौँ आफू पनि त्योसँग समान पुग्ने गरी चढौँ न !’

चलचित्र चलाउन गीतको पनि भूमिका हुन्छ । हालसालै सार्वजनिक गरिएको ‘बल्ल बुझेँ चाल तेरो’ गीत निकै चर्चामा छ । बाबुल गिरीले शब्द रचना÷सङ्गीत गरेको यो गीत ‘भाइरल’ नै भएको छ । तर कतिपयले नेपाली समाज त्यति आधुनिक पनि नभइसकेको भन्दै अपाच्य व्यवहार देखाइएको भनेका छन् । गीतका सर्जकले भने समाजमा त्यस्ता पनि पात्र भएकाले रचना गरेको भन्दै बचाउ गरेका छन् ।


नेपाली फिल्म (कलिउड)मा चलचित्रहरूको भीडन्त नौलो कुरा होइन । ‘सुपर फ्लप’ वा चलचित्रको कथावस्तु जस्तोसुकै भएपनि एकअर्काबीच होडबाजी लगाउने निर्माताहरूको बानी नै परेको छ । प्रतिस्पर्धा साइतमा मात्र देखिन्छ । ‘गुणस्तरमा ध्यान दिन्छौँ’ भनेपनि त्यसमा गम्भीरता देखिँदैन । बरु ‘फण्डा’ गरेर दर्शक तान्ने प्रतिस्पर्धा हुने गरेको छ । निकै सानो बजार रहेको कलिउडमा यस्तो प्रतिस्पर्धाले के नतिजा ल्याउला ? फूलपातीको साइत पारेर ‘पसल’ खोल्न लागेका यी तीन चलचित्रले उपभोक्तालाई सामान बिकाउन सक्लान् नसक्लान्, हेर्न बाँकी छ । तर यस्तो प्रतिस्पर्धाले निर्माताहरू भने चुर्लुम्मै डुब्न सक्छन् । चलचित्रमा ठूलो लगानी आवश्यक हुने भएका चलचित्र उद्योग नै लङ्गडो पनि हुनसक्छ ।

वास्तवमा यी तीन चलचित्र एक प्रकारले ‘तीन चुला’ हुन् । जसमाथि ‘नेपाली चलचित्र’ नामक भाँडा बसालिएको छ । यिनीहरू हल्लिए भने भाँडो घोप्टिन सक्छ । बसाएको खानेकुरा पोखिन सक्छ । यी चुला मात्र नभएर नेपाली चलचित्रका अन्य चुला पनि भाँचिनु वा हल्लिनु हुँदैन ।

SHARE