हङकङ सिक्सेस : नेपालसामु अस्ट्रेलिया नतमस्तक

हङकङ सिक्सेसको जारी खेलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले दोस्रो खेलमा अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

सन्दीप जोरोको कप्तानीमा रहेको नेपालले यसअघि हिजो इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो । जितसँगै पुल बीको नेपाल विजेता बनेको छ ।

टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमा समेटियो ।

उसका लागि ज्याक वुडले ५५ रन बनाए । १६ बलमा नटआउट रहँदै उनले ६ छक्का र ४ चौका हिर्काए । त्यस्तै एलेक्स रोसले १४ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । उनले डान क्रिश्टिय र एलेक्स रोसलाई बोल्ड आउट गरे भने कप्तान साम हिज्लेटलाई लोकेश बमको हातबाट क्याच आउट गराए ।

यसैगरी विवेक यादव र लोकेश बमले पनि १/१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रन बनाएका थिए । उनले १६ बलमा ४ छक्का र ५ चौका हिर्काउँदै रिटायर भएका थिए । त्यस्तै ओपनर लोकेश बमले ३३ तथा विवेक यादव र रासिद खानले पनि समान १२ रनको योगदान गरे ।

एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको नेपालले अब श्रीलंकासँग खेल्नेछ ।

SHARE