गायक तथा सञ्चारकर्मी प्रीतम गोलेको खान्दोके सेलो ‘बैलासी थेबा–२’ बजारमा आउने भएको छ । सुमिना लो र उनको आफ्नै आवाजमा रहेको सेलो गीत शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको छ ।
उनले आफ्नै अफिसियल यूट्युब च्यानलमार्फत् गीत सार्वजनिक गर्न लागेका हुन् ।
लामो समयको पर्खाइपछि गीतको म्यूजिक भिडियोसहित गीत सार्वजनिक गर्न लागिएको गोलेले बताए । सिन्धुपाल्चोकको गाउँहरूमा प्रचलित खान्दोके सेलोको भाका र शब्दलाई टिपेर गीत बनाइएको उनको भनाइ छ । गीतको भिडियो सिन्धुपाल्चोककै गाउँहरूमा खिचिएको छ । ‘सकेसम्म मौलिकता नहराओस् भनेर गाउँमै भिडियो पनि खिचिएको छ । गाउँको मौलिक चिजलाई देखाउन लागेका छौँ । हरेक कुराहरूलाई समेट्न खोजेका छौँ’, गोलेले भने, ‘थेबा–१ को सिक्वेल हो यो । यसमा लभ स्टोरी छ, कमेडी छ । धेरै मनोरञ्जन पाउनु हुनेछ ।’
आफूहरूले खान्दोके सेलो गाइने गाउँमै पुगेर भिडियो बनाएको र मेहेनत गरेकाले राम्रो हुने अपेक्षा रहेको मोडेल अस्मिता तामाङले बताइन् । ‘प्रितम दाइकै गाउँमा आएर सुटिङ गरेका छौँ’, उनले भनिन्, ‘हाम्रो टिमले निकै मेहेनत गरेर सुटिङ गरेका छौँ । कस्तो बन्यो भनेर चाहिँ भिडियोको प्रतिक्षा गर्नुहोला ।’
मोडल ईश्वर लामाले ‘बैलासी थेबा–१’ मा झैँ मेहेनत गरेको र राम्रो गीत बनेको बताए । आफूहरूले मौलिक कुरा भिडियोमा देखाउन लागेकाले साथ दिन उनले आग्रह गरे ।
म्यूजिक भिडियोको निर्देशनसमेत गोले आफैँले गरेका हुन् भने छायाङ्कन कृष्ण ब्लोनले गरेका हुन् । सम्पादन त्रिलोक लामाले गरेका छन् ।
भिडियोमा प्रीतम गोले तामाङसहित ईश्वर लामा, अस्मिता तामाङ तथा दिपेन्द्र तामाङलाई देख्न सकिन्छ । यस्तै दिपक लामा, सागर तामाङ र देवी तामाङले पनि अभिनय गरेका छन् ।
के हो खान्दोके सेलो ?
विशेषगरी सिन्धुपाल्चोकका गाउँघरमा गाइने खान्दोके सेलो मौलिक भाका हो । तामाङ समुदायमा प्रचलित यो सेलो नेपाली भाषासँग पनि सम्बन्ध राख्ने गायक तथा सञ्चारकर्मी गोलेले बताए । उनका अनुसार ‘कहाँ जाने ?’, ‘कहाँको हो ?’ जस्ता हरफको तामाङ भाषामा ‘खान्दो निबा ?’, ‘खान्दो ला ?’ भनेर प्रयोग हुने भएकाले यसरी बोल्ने भेगमा सेलोको उत्पत्ति भएको उनको दाबी छ ।
खान्दोके सेलोको उठान आसाना सरदो, मन परादो, आम्मै लिज्यान खै लाला, लैजाउ गुण्डा लैजाउ रे जस्ता शब्दबाट हुने गर्छ ।
पछिल्लो समय खान्दोके सेलोका श्रोता तथा दर्शक बढ्न थालेको गोलेले बताए ।