पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग(एनपीएल)सुरु हुन अब केही दिन मात्रै बाँकी छ । एनपीएलको फ्रेन्चाइज टिम मध्येको एक चितवन राइनोजले आफ्ना समर्थकलाई निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
आफ्नो टोलीको खेल भएको दिन चितवनदेखि काठमाडौंसम्म निशुल्क बस सञ्चालन गर्ने निर्णय चितवनले गरेको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित क्रिकेट मैदानसम्म आउन निशुल्क बस सेवा व्यवस्था गर्ने भएको हो । बिहानै ३ बजे नै बस चितवनबाट हिँड्ने र बीचमा खाना समेत खुवाउने राइनोजले जनाएको छ । उनीहरुलाई फर्कने समेतको व्यवस्था छ ।
तर काठमाडौं आउनका लागि आफ्नो खेल हेर्नका लागि टिकट भने काटेको हुनुपर्ने सर्त राखेको छ । यसका लागि खेल हुने दिनमा ५ वटा बसको व्यवस्था गरिएको पनि जानकारी दिइएको छ ।
चितवन राइनोजले पहिलो खेल मंसिर १७ गते काठमाडौं खुर्खाजसँग खेल्दैछ ।
बिहान ९ः१५ खेल सुरु हुनेछ । दोस्रो खेल भोलिपल्टै पोखरासँग रहेको छ । यो भने दिउँसो १ः१५ बजे सुरु हुनेछ।