काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले माघ महिनाका लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) वाङ्गेल लामालाई उत्कृष्ट प्रहरी घोषित गरेको छ।
परिसरको इन्टेलिजेन्स शाखामा कार्यरत लामाले कार्यसम्पादन, अनुसन्धान तथा सूचनाको प्रभावकारी व्यवस्थापनमा देखाएको सक्रियता र जिम्मेवारीबोधका आधारमा उक्त सम्मान पाएका हुन्।
परिसर प्रमुख एसएसपी रमेश थापाले एक कार्यक्रमबीच लामालाई प्रशंसापत्र प्रदान गर्दै उनको कार्यदक्षता र अनुशासनको प्रशंसा गरे। थापाले संगठनको उद्देश्यअनुसार शान्ति–सुरक्षा कायम गर्न खटिने प्रहरी कर्मचारीलाई यस प्रकारको सम्मानले थप हौसला मिल्ने बताए।
सम्मानित इन्स्पेक्टर लामाले जिम्मेवारीलाई अझ प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई छनोट गर्दै सम्मान गर्दै आएको छ।









