काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा कटाक्ष गर्दै असन्तुष्टि जनाएका हुन् ।
भूमि सम्बन्धी अध्यादेश भनेर उनले उल्लेख नगरे पनि उनको भनाइले त्यसलाई सङ्केत गरेको बुझिन्छ ।
‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’ फेसबुकमा उनले भनेका छन्, ‘बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
भूमिसम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ ।
उक्त अध्यादेश जारी गर्नका लागि सरकारले अन्य चार वटा अध्यादेशसँगै पठाएको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले अन्य चार वटा अध्यादेश जारी गरे पनि भूमि सम्बन्धीको अध्यादेश हस्ताक्षर नगरी ‘होल्ड’ गरेर राखेका थिए ।
तर उनले बुधबार उक्त अध्यादेश पनि जारी गरेपछि बालेनको प्रतिक्रिया आएको हो ।











