जिरीको होम्बा तामाङ प्रकरण : धनबहादुर तामाङ पुर्पक्षका लागि थुनामा

दोलखा । जिल्लाको जिरी नगरपालिकाको -४ पटासेमा एक बृद्धको हत्या अभियोगमा पक्राउ परेका तीन जनामध्ये एकजना पुर्पक्षका लागि थुनामा गएका छन् । अन्य दुई जना भने धरौटीमा छुटेका छन् ।

जिल्ला न्यायधीश माधबप्रसाद सुवेदीको ईजलासमा भएको थुनछेक बहसमा पटासेका ६१ वर्षीय होम्बा तामाङको हत्या अभियोगमा सोही स्थानका ६६ वर्षीय धनबहादुर तामाङ पुर्पक्षका लागि थुनामा गएका हुन् । यस्तै, धनबहादुरकी श्रीमती गंगामाया तामाङ र वडा नम्वर ४ का ५२ वर्षिय शान्ता जिरेल भने २५/२५ हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला अदालत दोलखाले जनाएको हो ।

सरकारी वकिल कार्यालयले अनुसन्धान पुरा गरी तीनैजनालाई हिजो अदालतमा अभियोग पत्र पेश गरेको थियो । जसअनुसार धनबहादुरलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७९ को उपदफा १ को खण्ड क बमोजिम सजाय माग दाबी गरिएको थियो ।

यस्तै, गंगामाया र शान्तालाई भने मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ३६ को उपदफा १ बमोजिम सजाय माग सहितको अभियोग पत्र पेश गरिएको जिल्ला अदालत दोलखाले जनाएको छ । सरकारी वकिल कार्यालयले धनबहादुरले आवेशमा आई लौरो प्रहार गरेको र गंगामाया र शान्ताले हत्यामा मतियारको रुपमा काम गरेको भनि अभियोग पत्र पेश गरेको हो ।

होम्बा तमाङ पौष २८ गते आफ्नै घरमा मृत फेला परेका थिए । उनको २६ गते नै हत्या भएपनि २८ गते मात्रै शव फेला परेको थियो ।

SHARE