राजधानी काठमाडौंमा वागमती प्रादेशिक ललितकला प्रदर्शनी-२०८१ सुरु भएको छ । आज (२६ फागुन) देखि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी स्थलमा प्रदर्शनी सुरु भएको हो ।
‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान !’ भन्ने नाराका साथ प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनी चैत १ गतेसम्म हुनेछ ।
प्रतिष्ठानका उपकुलपतिसमेत रहेका प्रदर्शनी कार्यक्रमका संयोजक लालकाजी लामाका अनुसार प्रदर्शनीमा अवलोकन गर्न निःशुल्क प्रवेश गर्न सकिन्छ । देश तथा विदेशी जोसुकै अवलोकनकर्ताले अवलोकन गर्न पाउने उनको भनाइ छ । ‘प्रवेश निःशुल्क गरेका छौँ’, उनले भने, ‘नेपाली कलालाई माया गर्ने जोसुकै पनि आउन सक्नुहुन्छ । देश तथा विदेशी जो पनि अवलोकनका लागि आउन सक्नुहुन्छ ।’
उनले नेपाली समुदायको पहिचानलाई संवर्द्धन तथा प्रवर्द्धनका लागि प्रदर्शनीको आयोजना गरिएको बताए । कलाकारहरूलाई आर्थिक पाटोबाट पनि जोड्ने भएकाले प्रदर्शनी थप महत्वपूर्ण रहेको उनको भनाइ छ ।
संयोजक लामाका अनुसार प्रदर्शनीमा २०९ जना कलाकारको २४१ वटा कला हेर्न सकिने छ ।
यसैगरी प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले प्रदर्शनीबाट कलाकारको पहिचानसमेत निर्माण हुने र यसले उनीहरूको सीप अभिवृद्धि पनि गर्ने जनाए । साथै यस्ता प्रदर्शनीले नेपाली कला तथा सामाजिक परिवेशलाई स्थानीय, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुर्याउन मद्दत मिल्ने बताए ।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानमूलक पुस्तक ‘ललितकला प्रज्ञा’ र क्याटलगको विमोचनसमेत गरिएको थियो ।











