काठमाडौँ । अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचार क्रममा निधन भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार पौडेलको शुक्रबार बिहान ८ः३० बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।
गत शनिबार दिउँसो नितुले संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैंमाथि पेट्रोल छर्की आगो लगाएकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो। पाँच दिनसम्म जीवन र मृत्युबीच संघर्ष गरेकी नितुलाई चिकित्सकहरूले बचाउन सकेनन्।
नितु पौडेल नेपाली संगीत क्षेत्रमा उदाउँदो कलाकारका रूपमा चिनिँदै आएकी थिइन्। उनले केही वर्षअघि मात्रै केही गीत सार्वजनिक गर्दै संगीतयात्रा सुरु गरेकी थिइन्। नितुको मृत्युले संगीत क्षेत्र र उनका साथी–परिवारमा गहिरो शोक छाएको छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार घटनाको समयमा स्टुडियोमा बाबुल गिरीलगायत केही व्यक्ति उपस्थित थिए। प्रहरीले बयान संकलन र घटनाका कारणबारे थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।










