‘मदिरा सेवन गर्ने भाले भुसुनाप्रति पोथी भुसुना बढी आकर्षित’

‘एल्कहोल’ अर्थात् मदिरा सेवन गर्ने ‘फ्रूट फ्लाइ’ भनिने एक किसिमका भुसुनाका भालेहरूप्रति पोथीहरू बढी आकर्षित हुने गरेको एउटा अध्ययनले देखाएको छ।

भाले भुसुनाको आहारामा मदिरा थपिँदा पोथीलाई आकर्षित गर्न तिनको शरीरले बनाउने र निकाल्ने रासायनिक पदार्थको मात्रा बढ्छ र ती धेरै पोथीहरूसँग समागम गर्न सफल हुन्छन्।

पाकेका वा सडेगलेका फलफूल र खाद्यपदार्थमा झुम्मिने भुसुनाको वैज्ञानिक नाम ुड्रोसोफिला मेलानोगास्टरु हो। फलफूल र खाद्यपदार्थ कुहिँदा बिस्तारै मदिरा निस्कन्छ।

वैज्ञानिकहरूले भुसुनाहरू किन मदिरा मन पराउँछन् र त्यसले तिनमा कस्तो प्रभाव पार्छ भन्ने जान्ने प्रयास गरेका छन् ।
मदिराप्रति भुसुनाहरूले देखाएको आकर्षणबारे केही मान्यताहरू, जस्तै भालेहरू परमानन्दको अवस्थामा रहन चाहन्छन् वा पोथीहरूले अस्वीकार गरेका भालेहरू समागमबाट प्राप्त हुने चरम सुखको विकल्पको खोजीमा हुन्छन् भन्ने निकै प्रचलित छन्। यसअघि गरिएको अनुसन्धानले ती मान्यताको जाँच गरेको थियो।

माक्स प्लाङ्क इन्स्टिट्यूटको ईभलूशनरी न्यूरोईथोलजी विभागका प्रमुख तथा अनुसन्धानकर्ता बिल ह्यान्सनका अनुसार पहिलाका अनुसन्धानहरूमा मानवीय दृष्टिकोणबाट भुसुनाको व्यवहारको अध्ययन गरिएको थिए। तर उनको नेतृत्वमा भएको अध्ययनले मदिरा सेवनबाट भुसुनाले प्रजननका लागि कस्तो लाभ पाउँछ भनेर खोजेको छ।

‘चिन्तामा परेर भुसुनाले मदिरा सेवन गर्छन् जस्तो हामीलाई लाग्दैन, उनले भने।

(बीबीसीबाट)

SHARE