वुमन्स डे टी-२० : हङकङसँग नेपाल २ रनले पराजित

चार देशीय  वुमन्स डे टी-२० क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको छ । इन्टेबे, युगान्डामा भएको आजको खेलमा नेपाल पराजित भएको हो ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १०१ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ७ विकेट गुमाउँदै ९८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् । त्यस्तै पूजा महतोले १९ तथा बिन्दु रावलले १४ रन बनाए ।

जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको बेला नेपालले ७ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेपालले १ रन अतिरिक्त पाएको थियो ।

हङकङकी मारिको हिलले २ विकेट लिइन् । त्यस्तै सिउ मेइ वाइले १ र चान का यिङले पनि समान १ विकेट हात पारिन् ।

यसअघि ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो । उसका लागि ओपनर नातासा माइल्सले ३५ रन बनाइन् । त्यस्तै मारिको हिलले २१ रन बनाइन् ।

नेपालका लागि इश्वरी विष्ट र इन्दु बर्माले समान २/२ विकेट लिए । पूजा महतो र रचनाकुमारी चौधरीले पनि समान १/१ विकेट हात पारे ।

नेपालले यसअघि नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने युगान्डामाथि १ विकेटको जित हात पारेको थियो ।

नेपालले अब फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ ।

SHARE