रातो बलप्रति आकर्षण घट्दै गएपछि टेस्ट क्रिकेटरको सुविधा बढाउँदै

क्रिकेटमा रातो बलप्रति खेलाडीहरूको आकर्षण घट्दै गएपछि चिन्तित बनेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेटरहरूलाई दिइने सेवा–सुविधामा वृद्धि गर्ने योजना बनाएको छ ।बीसीसीआईले टेस्ट क्रिकेटप्रति आकर्षण बढाउने उद्देश्यले टेस्ट क्रिकेटरलाई दिइने म्याच फी (प्रतियोगिता खेलेबापत पाउने शुल्क) मा वृद्धि गर्ने तयारी गरेको समाचारमा जनाइएको छ ।

पछिल्लो समय क्रिकेटरहरू लामो ढाँचाको प्रतियोगिताभन्दा पनि फ्रेन्चाइज प्रतियोगितातर्फ बढी आकर्षित भएको देखिन्छ । फ्रेन्चाइज क्रिकेट खेल्दा राम्रो पैसा पाइने भएकाले यसतर्फ खेलाडीको झुकाव बढेको निष्कर्ष बीसीसीआईले निकालेको छ ।टेस्ट प्रतियोगिताहरू खेलाडीको रोजाइमा पर्न छाडेपछि पछिल्लो समय विश्वभरका क्रिकेट सङ्घहरू चिन्तित बनेका छन् । क्रिकेट खेलको मेरुदण्ड मानिने टेस्टलाई जोगाउन उनीहरू विभिन्न उपायको खोजीमा लागेका छन् ।

त्यसैले बीसीसीआईले पनि टेस्ट क्रिकेटरको म्याच फिमा उल्लेख्य वृद्धि गर्ने योजना अगाडि सारेको हो । यसका अतिरिक्त बीसीसीआईले टेस्ट खेलाडीको पारिश्रमिक बढाउने तयारी पनि अगाडि बढाएको छ ।

हाल बीसीसीआईले एक टेस्ट खेलेबापत खेलाडीलाई १५ लाख रुपैयाँ म्याच फी उपलब्ध गराउँदै आएको छ । प्रत्येक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेबापत भारतीय खेलाडीले ६ लाख रुपैयाँ पाउँछन् भने एउटा टी–२० अन्तर्राष्ट्रिय खेल्दा तीन लाख भारतीय रुपैयाँ म्याच फी प्राप्त गर्छन् ।