राष्ट्रिय युवा संघ नेपाल दोलखा जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न

दोलखा – राष्ट्रिय युवा संघ नेपाल, दोलखा जिल्ला कमिटीको पहिलो बैठक नेकपा (एमाले) का जिल्ला इञ्चार्ज तथा पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ।

बैठक जिल्ला संयोजक सुरज खडकाको अध्यक्षतामा बसेको हो। कार्यक्रममा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरतबहादुर केसी र एमाले दोलखा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ विशेष अतिथि रहेका थिए।

बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सरोज बस्नेत, केन्द्रीय सदस्य सुजन श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि विभागका सदस्य विशाल काफ्ले खत्री अतिथिका रूपमा उपस्थित थिए।

बैठकले संगठनलाई अधिवेशन केन्द्रित गर्दै हरेक वडा र पालिकामा अधिवेशन आगामी मंसिरसम्म सम्पन्न गर्ने र त्यसपछि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। साथै, यसै महिना भदौ २० देखि २२ गतेसम्म हुने पार्टीको दोस्रो विधान महाधिवेशनसम्बन्धी विषयमा पनि विस्तृत छलफल गरिएको थियो।

बैठककै अवसरमा प्रदेश मन्त्री भरतबहादुर केसी, केन्द्रीय तहका जिम्मेवार नेताहरू सरोज बस्नेत, सुजन श्रेष्ठ, विशाल काफ्ले खत्री तथा जिल्ला संयोजक सुरज खडकालाई बधाई दिँदै शुभकामना आदान–प्रदान गरिएको थियो।

बैठकले संगठनलाई सबल, गतिशील र अधिवेशनमुखी बनाउन रणनीतिक तयारी अघि बढाउने निर्णय गर्दै सम्पन्न भएको छ।

SHARE