काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो अद्वितीय स्वरको छाप छोडेकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ । करिब २ वर्षदेखि क्यान्सरसँग लडिरहेकी उनले ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमै बुधबार बिहान २ बजे अन्तिम श्वास फेरेकी हुन् ।
वि.सं २०२३ कार्तिक ३ गते ललितपुरको भर्देउमा जन्मिएकी इन्दिराले ४ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय यात्रा सुरु गरेकी थिइन् । रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेपछि उनले नेपाली लोकगीत, लोकदोहोरी र तामाङ सेलोमार्फत सांगीतिक यात्राको शिखरमा पाइला टेकेकी थिइन् ।
५ हजारभन्दा बढी गीतमा स्वर
गोलेले आफ्नो जीवनकालमा करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिइन् । ‘चाँगुनारायण थान’, ‘जाइफूलको बासना’, ‘घर त छाउनीमा’, ‘सफा ट्याम्पुरी’, ‘होइ ताङ्बा’, ‘गाङ ग्याब्से ला’ लगायतका उनका स्वरमा सजिएका गीतहरू आज पनि श्रोतामाझ उस्तै लोकप्रिय छन् । उनका गीतहरूमा ग्रामीण जीवन, प्रेम, संस्कृति र तामाङ समुदायको मौलिक भाका प्रष्ट झल्किन्छ ।
तामाङ संस्कृतिको संरक्षणमा योगदान
नेपाल तामाङ कलाकार संघकी पूर्वअध्यक्ष समेत रहेकी उनले तामाङ गीत–संगीतलाई विश्वभर फैलाउन अग्रणी भूमिका खेलिन् । तामाङ सेलोमार्फत समुदायको सांस्कृतिक धरोहरलाई नयाँ पुस्तामा पु¥याउने कार्य उनले जीवनभर निर्वाह गरिन्
विविधता बोकेको स्वर
गोले केवल तामाङ गीतमै सीमित रहेनन्, उनले नेपाली लोकदोहोरी, आधुनिक गीत, र रेडियो नेपालमा प्रशारण भएका असंख्य लोकगीतहरू पनि गाइन् । उनका स्वरमा मिठास मात्र होइन, संस्कृतिको गहिरो आत्मीयता मिसिएको थियो । यही विशेषताले उनलाई नेपाली संगीतको धरोहर स्वरूप बनाएको हो ।
व्यक्तिगत जीवन
उनी कान्छी छोरीसहित हात्तीवनमा बस्दै आएकी थिइन् । उनका दुई छोरी छन् भने श्रीमानको केही वर्षअघि निधन भइसकेको छ । उपचारका क्रममा आर्थिक अभाव नहोस् भनेर नेपाल तामाङ कलाकार संघ लगायत विभिन्न संस्थाले सहयोग संकलन अभियान पनि चलाएका थिए ।
इन्दिरा गोले गुरुङ केवल गायिका मात्र होइन, उनी नेपाली गीत संगीत इतिहासको अमर स्वर हुन् । तामाङ सेलोको सजीव अभिव्यक्ति, नेपाली लोकगीतको आत्मीयपन र आधुनिक गीतको मिठासमार्फत उनले संगीतलाई जीवन्त बनाइन् । अब उनी शारीरिक रूपमा हामीसँग नरहे पनि, उनका हजारौं गीतहरू भावी पुस्ताको लागि सधैं मार्गदर्शन र प्रेरणादायी सम्पत्ति बन्नेछन् ।