ललितपुरका केही क्षेत्रमा कर्फ्यू आदेश जारी

ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार बिहान ७ बजेदेखि राति १२ बजेसम्म लागू हुनेगरी आदेश जारी गरेका हुन्।

जारी आदेशअनुसार तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।

 कर्फ्यू लागू गरिएका क्षेत्र

1. भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५)

पूर्व : भैँसेपाटीबाट बुङ्गमती जाने सडक

पश्चिम : सिजी हाउजिङ तथा चोभार गल्छी सडक

उत्तर : गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर

दक्षिण : इटनी जाने ओह्रालोसम्म

2. सानेपा क्षेत्र (वडा नं २)

पूर्व : सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक

पश्चिम : बल्खु पुलदेखि मनमोहन पार्कसम्मको बागमती करिडोर सडक

उत्तर : बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन

दक्षिण : इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म

3. च्यासल क्षेत्र (वडा नं ९)

पूर्व : मनोहरा खोला करिडोरको झोलुङ्गे पुल

पश्चिम : च्यासल रङ्गशाला

उत्तर : मनोहरा खोला

दक्षिण : मल पोखरी जाने बाटोसम्म

सीडीओ घिमिरेका अनुसार शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न यो निर्णय गरिएको हो। प्रशासनले सर्वसाधारणलाई तोकिएको समय र क्षेत्रमा कर्फ्यू आदेश कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

SHARE