काभ्रेपलाञ्चोकमा कर्फ्यू आदेश जारी : जेन-जी आन्दोलनपछि देशभर प्रदर्शन

काभ्रेपलाञ्चोक । देशभर जेन-जी युवाले गरेको आन्दोलन चर्किएपछि काभ्रेपलाञ्चोकमा पनि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो १२:१५ बजेबाट राति ९ बजेसम्मका लागि कर्फ्यू लागू गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहानैदेखि प्रदर्शन तीव्र भएपछि तत्काल अवस्था नियन्त्रणमा लिन कर्फ्यू लगाउनुपरेको हो।

यसअघि सोमबार देशव्यापी रूपमा भएको जेन-जीको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएका थिए भने करिब ३०० जना घाइते भएका थिए। घाइतेहरूको काठमाडौं उपत्यकासहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सो घटनापछि आज काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवनलगायतका जिल्लामा विरोध प्रदर्शन भइरहेको छ। सुरक्षास्थिति संवेदनशील बनेपछि स्थानीय प्रशासनले एकपछि अर्को गर्दै कर्फ्यू आदेश जारी गरेका छन्।

काभ्रेपलाञ्चोक प्रशासनले नागरिकलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ। कर्फ्यू उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

सुरक्षाकर्मीहरूलाई थप सतर्कता अपनाउन निर्देशन दिइएको छ भने प्रमुख बजार क्षेत्र, सरकारी कार्यालय नजिक र संवेदनशील स्थानहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

SHARE