जिरीमा भालुको आतङ्क : स्थानीय त्रसित

नबिन सुनुवार, दोलखा।
दोलखाको जिरी नगरपालिकामा भालुको बिगबिगी बढ्दै जाँदा स्थानीय बासी त्रसित भएका छन्। पछिल्ला केही दिनयता भालुले पटक–पटक आक्रमण गर्दा मानिस घाइते भएपछि गाउँबस्तीमा भयावह वातावरण बनेको छ।

बिहीबार मात्रै जिरी नगरपालिका–८ निवासी दावा शेर्पा भालुको आक्रमणमा परी घाइते भए। स्थानीयको सक्रियतामा भालुलाई लखेट्ने क्रममा आज फेरि दिलिप तामाङलाई समेत आक्रमण गरेको जनाइएको छ।

घाइते शेर्पालाई तत्काल काठमाडौँ पुर्‍याइएको छ भने तामाङलाई मैनापोखरीमा प्रारम्भिक उपचारपछि काठमाडौँ रिफर गरिएको छ। तामाङको अनुहार, टाउको र हातमा गम्भीर चोट लागेको चिकित्सकहरूले बताएका छन्।

जिरी नगरपालिका–७ र ८ को सिमानामा पर्ने नेपाने–निगालेको जंगलमा भालुको बढ्दो उपस्थितिले गाउँबस्तीमा भय फैलिएको छ। दाउरा, घाँसपात वा अन्य कामका लागि जंगलमा जाने स्थानीय अहिले साह्रै त्रसित छन्।

“हामी बिहान बेलुकी कुन बेला भालुको सिकार हुने हो भन्ने डरमा छौं,” एक स्थानीयवासीले भने। भालुले गाउँबस्तीमै तहल्का मच्चाउन थालेपछि स्थानीयवासीले सम्बन्धित निकायलाई तुरुन्त नियन्त्रण गर्न माग गरेका छन्।

“अब हाम्रो ज्याननै जोखिममा परेको छ। समयमा नियन्त्रण नभए ठूलो दुर्घटना निम्तिन सक्छ,” स्थानीयले चेतावनी दिएका छन्।

जिरीमा पछिल्लो समय भालुको गतिविधि बढ्नु केवल स्थानीयको त्रासको विषय मात्र नभई सरोकारवाला निकायका लागि चुनौती पनि बनेको छ। समयमै उचित कदम नचालिए थप मानवीय क्षति हुने सम्भावना उच्च रहेको देखिन्छ।

SHARE