काठमाडौँ । निर्देशक निमा लामा तामाङले आफ्नो नयाँ नेपाली चलचित्र “मायाभन्दा ठूलो जात होइन” निर्देशन गर्ने भएका छन्। जिम्बा फिल्म प्रोडक्सनद्वारा निर्माण हुने यो चलचित्र जातीय समावेशिता, पारिवारिक मूल्य र प्रेमको गहिरो कथा बोकेको बताइएको छ।
चलचित्रको कथा तामाङ र ब्राह्मण समुदायबीचको प्रेम सम्बन्ध वरिपरि घुम्नेछ। निर्देशक निमा लामा तामाङका अनुसार, “मायाभन्दा ठूलो जात होइन” नेपाली समाजमा विद्यमान जातीय विभेद र पारिवारिक सोचाइलाई प्रेमको दृष्टिकोणबाट प्रस्तुत गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो।
यस चलचित्रमा पुराना र नयाँ दुवै पुस्ताका कलाकारहरूको सहभागिता रहने भएको छ। अहिलेसम्म फाइनल भएका कलाकारहरूमा विवेक सुवेदी, सिताराम गोले, रचना तामाङ, सुनलाल वाइबा, हिरोज लोप्चन लगायतका कलाकारको नाम सार्वजनिक गरिएको छ।
चलचित्रको छायाङ्कन आगामी मङ्सिर महिनाको पहिलो हप्तादेखि सुरु हुने निर्माण टिमले जनाएको छ। देशैभर प्रदर्शन गर्ने लक्ष्यसहित यो चलचित्र सन् २०२६ भित्रै रिलिज गर्ने तयारी गरिएको छ।