दुधकुण्डमा हराउने पर्यटकको समस्या बढ्दो, संकेत बोर्ड र संचार अभावले जोखिम

सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा ओखलढुंगाका डेनिस मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएको थियो। गलत बाटो समातेपछि मोबाइल सिग्नल हराउँदै उनीहरू कामोडाँडामाथि जंगल र भिरालो भूभागमा हराएका थिए। स्थानीयको सहयोगमा उद्धार सम्भव भएको हो।

स्थानीय व्यवसायीहरूका अनुसार पदमार्गमा संकेत बोर्ड र दिशानिर्देश नहुँदा पर्यटक बाटो भुल्ने समस्या सामान्य बन्दै गएको छ। भौगोलिक कठिनाइ र कमजोर संचार सञ्जालका कारण उद्धारमा पनि कठिनाइ हुने गरेको छ।

समुद्री सतहबाट ४,७०० मिटर उचाइमा रहेको दुधकुण्ड नुम्बुर हिमालको फेदमा पवित्र धार्मिक तालका रूपमा चिनिन्छ। प्रत्येक वर्ष जनैपूर्णिमामा हजारौं भक्तजन यहाँ स्नान र दर्शनका लागि पुग्ने गर्छन्।

हालै नुम्बुर हिमालमा विदेशी आरोहीहरूले पहिलो सफल आरोहण गरेपछि दुधकुण्ड क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने अवसर खुलेको छ।

स्थानीय पर्यटन व्यवसायी र जानकारहरूले स्थायी संकेत बोर्ड, उद्धार केन्द्र, सञ्चार सुधार र गाइड तालिमलाई अत्यावश्यक बताउँदै तीन तहका सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।

नगरपालिकाले यस वर्षभित्र ‘दुधकुण्ड पर्यटन प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत संकेत बोर्ड र सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाएको जनाएको छ।
यदि समयमै पूर्वाधार निर्माण र प्रचारमा जोड दिइएमा दुधकुण्ड धार्मिक तथा हिमाली ट्रेकिङको राष्ट्रिय गन्तव्य बन्न सक्ने सम्भावना उच्च रहेको सरोकारवालाहरूको मत छ।

SHARE