काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग विशेष छलफल गर्ने भएकी छिन्। प्रधानमन्त्रीको पहलमा आयोजना गरिएको यो बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने तय गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, संघीय व्यवस्था अन्तर्गत केन्द्र र प्रदेश सरकारबीचको समन्वय र सहकार्य सुदृढ बनाउन बैठक बोलाइएको हो। पछिल्ला राजनीतिक तथा प्रशासनिक परिवर्तित अवस्थालाई ध्यानमा राख्दै संघीय नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा प्रदेशहरूको भूमिकाबारे खुला संवाद र सुझाव आदानप्रदान हुने अपेक्षा गरिएको छ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी हुनेछन्।
प्रधानमन्त्री कार्कीले संघीय अभ्यासलाई प्रभावकारी बनाउन प्रदेश सरकारसँगको सहकार्यलाई निरन्तरता दिने बताउँदै आएकी छन्। यस बैठकबाट केन्द्र–प्रदेशबीचको संवाद र नीति–निर्माणमा नयाँ गति आउने अपेक्षा गरिएको छ।










