चितवन। तामाङ चलचित्र संघले तामाङ चलचित्रका संस्थापक अध्यक्ष तथा अग्रज निर्माता–निर्देशक स्वर्गीय सन्तलाल घिसिङको २१औँ पुण्यतिथिको अवसर पारेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
तामाङ चलचित्र संघको नेतृत्व स्व. सन्तलाल घिसिङको दूरदर्शी सोच, सृजनात्मक साहस र सांस्कृतिक प्रतिबद्धताबाट अघि बढेको स्मरण गर्दै वक्ताहरूले उहाँलाई तामाङ चलचित्रको “मूलधार” को संज्ञा दिए। श्रद्धाञ्जली सभामा संघका अध्यक्ष विनायक लोप्चन, उपाध्यक्ष सुनिता लुङ्बा ,उत्तर लामा , महासचिव बुद्ध लामा, सचिव सुनिता दोङ, सह–कोषाध्यक्ष मनिका सिङ्तान तथा केन्द्रीय सदस्य हिरोज लोप्चनले श्रद्धाञ्जली मन्तव्य राख्दै घिसिङको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे।

तामाङ चलचित्रलाई गुणात्मक र सशक्त बनाउने अभियानमा अग्रसर स्व. घिसिङले पहिलो पटक तामाङ चलचित्र ‘आक्ताङ राउ’ निर्देशन गर्दै आफ्नो निर्देशन यात्राको सुरुआत गर्नुभएको थियो। त्यसपछि उहाँले करिब दुई दर्जनभन्दा बढी तामाङ चलचित्र निर्देशन गरी तामाङ भाषा, संस्कृति र पहिचानलाई सिल्वर स्क्रिनमा जीवन्त बनाउनु भयो। ‘मायाला छो’, ‘दुङाल’, ‘च्याङबा’, ‘लानी’ जस्ता चलचित्रहरू तामाङ समाजको मन–मनमा बस्न सफल भए, जुन आज पनि सांस्कृतिक दस्तावेजका रूपमा स्मरण गरिन्छ।
स्व. सन्तलाल घिसिङ तामाङ चलचित्र उद्योगको संस्थागत विकासका लागि निरन्तर संघर्ष गर्ने सर्जक हुनुहुन्थ्यो। उहाँको दृष्टिमा चलचित्र मनोरञ्जन मात्र होइन, पहिचानको आवाज थियो।
उहाँको निधनले तामाङ चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। श्रद्धाञ्जली सभाले उहाँका सपना, संघर्ष र सिर्जनालाई निरन्तरता दिने संकल्प पनि दोहोर्याएको छ। स्व. सन्तलाल घिसिङको मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा सम्पूर्ण चलचित्रकर्मीप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।










