माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दै, समाजवादीसँग एकता निर्णयको तयारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।

नेता हरिबोल गजुरेलका अनुसार, बैठकमा नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रियाबारे अन्तिम छलफल हुने छ।

यसअघि हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम एकतालाई “ऐतिहासिक आवश्यकता” भन्दै एकता प्रक्रिया नरोकिने बताएका थिए। तर नेता जनार्दन शर्मा भने असहमत देखिँदै तीन पृष्ठको लिखित प्रस्ताव राखेर बैठकबाट बाहिरिएका थिए।

शर्माले वैचारिक स्पष्टता र संगठनात्मक तयारी नगरी हतारमा एकता गर्नु प्रतिकूल परिणाम ल्याउने चेतावनी दिएका छन्।

पार्टीले कात्तिक १७ गते अर्को बैठक र १८ गते औपचारिक एकता घोषणा गर्ने तयारी गरेको बताइएको छ।

SHARE