जडान गर्‍यो धरहरा भूमिगत पार्किङमा आगो निभाउने यन्त्र

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू  जडान गरेको छ ।निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित आगो निभाउने उपकरणहरू जडान गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको छ ।

 

काठमाडौं महानगरले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको थियो । तर भूमिगत पार्किङमा मानवीय क्षतिको जोखिम लगायतको सुरक्षाको प्रश्न उठेपछि महानगरले आगो निभाउने उपकरणहरू जडान गरेको हो ।९ माघदेखि न्युरोडमा पार्किङ निषेध गरेर पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको बहुतले पार्किङको विकल्प दिइएको थियो ।

तर न्युरोडका व्यवसायी आन्दोलित भएपछि महानगरले १४ माघदेखि निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीलाई अनुरोध गरेर धरहराको भूमिगत पार्किङको ३ तल्लामध्ये एक तलामा पार्किङ खुलाएको थियो ।पार्किङ स्थलमा बत्ती र धुलोको समस्या छ । जसका कारण धरहरामा पार्किङ गर्न पुगेका सवारी धनीहरूले पार्किङ स्थलमा बत्तीको व्यवस्था तत्काल गर्न र धुलो उड्ने समस्या समाधान गर्न महानगरसँग अनुरोध गरेका छन् ।

 

SHARE