काठमाडौं। चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा सहभागी भएकी सञ्चिता दुरा अहिले चर्चाको केन्द्रमा छिन्। आफ्नै आवाज र भावनाले भरिएको प्रस्तुति मार्फत उनले कोचदेखि दर्शकसम्म सबैको मन जितेकी छिन्।
कार्यक्रममा उनले गाएको गीतले दर्शकहरूलाई मात्र होइन, चर्चित लोकप्रिय लोकगायिका बिमा कुमारी दुरा लाई समेत भावुक बनाएको छ।
गायिका बिमाले सामाजिक सञ्जालमार्फत सञ्चिताको प्रशंसा गर्दै लेखेकी छिन् – “साँच्चिकै गर्वको क्षण हो। यो नानीमा म एकदम गर्व गर्छु। ऊ अत्यन्तै प्रतिभाशाली छ। सबै न्यायाधीशहरूलाई धन्यवाद, तपाईंहरूले यो सिजनमा देखाउनुभएको माया र समर्थन अद्भुत छ। उनीले यो गीत यति भावना र प्रेमले गाइन् कि मलाई मेरो सुरुवाती दिनहरूको सम्झना दिलायो। यो गीत मेरो हृदयसँग निकै नजिक छ।”

उनको यस प्रतिक्रियाले सञ्चिता दुराको प्रस्तुतिप्रति दर्शकहरूको उत्साहलाई अझ बढाएको छ। सामाजिक सञ्जालमा अहिले बिमा कुमारीको समर्थन र सञ्चिताको गीतबारे सकारात्मक प्रतिक्रिया र शुभकामनाहरूको वर्षा भइरहेको छ।
सञ्चिताले गायनमा बाल्यकालदेखि नै रुचि राख्दै आएकी हुन्। उनका अनुसार ‘द भ्वाइस अफ नेपाल’ मा सहभागिता लिनु आफैंमा सपना साकार जस्तै हो।
उनको प्रस्तुतिले नेपालको लोक र आधुनिक संगीतको संयोजनलाई नयाँ ढंगले प्रस्तुत गरेको भन्दै संगीतप्रेमीहरूले पनि प्रशंसा गरेका छन्।










