काठमाडौं। तिब्बती बौद्ध धर्मका महान योगी तथा आध्यात्मिक मार्गदर्शक धर्मगुरु मिलारेपाको जीवनकथामा आधारित नाटक “मिलारेपा” राजधानीको थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चनको तयारी पूरा भएको छ।
मंगलबार (कार्तिक १८ गते) देखि नियमित मञ्चन सुरु हुने नाटकको आइतबार विशेष मञ्चन गरिएको थियो।
निर्माण पक्षका अनुसार विशेष मञ्चन पछि मङ्गलबारदेखि निरन्तर मञ्चन हुने तयारी पूरा भइसकेको छ। नाटकले मिलारेपाको बाल्यकालदेखि पाप, पश्चात्ताप हुँदै तपस्यामार्फत आत्मज्ञान प्राप्तिसम्मको आध्यात्मिक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
कलात्मक संरचना र निर्देशन
नाटकलाई बुद्धि तामाङ र उमेश तामाङले संयुक्त रूपमा निर्देशन गरेका छन्। यसको मूल लेखन चाङ् ङ्योन हेरुकले गरेका हुन् भने नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्। समग्र मञ्चनको संयोजकत्व धर्म गुरु कोशिस लोब्साङ वाईबाले सम्हालेका छन्।
दुई निर्देशकले मिलारेपाको जीवनकथालाई केवल धार्मिक प्रसङ्ग नभई मानव त्रुटिबाट मुक्ति खोज्ने आध्यात्मिकआत्मसंघर्षको कथाका रूपमा प्रस्तुत गरेका छन्। प्रकाश, ध्वनि, नृत्य र संवादको सन्तुलित प्रयोगले नाटकलाई गहिरो प्रतीकात्मक अर्थ दिएको छ।
अभिनय र प्रस्तुति
नाटक मुख्य भूमिकामा रुपेश लामाले मिलारेपाको पात्रलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। उनको अभिनयले शान्ति, पश्चात्ताप र आत्मशुद्धिको रूपान्तरण प्रभावकारी रूपमा दर्शक सामु ल्याउँछ। साथमा रमिला मोक्तान, विकाश लामा, सानु माया तामाङ, रस्मिला तामाङ, रिया लामा, विजय तामाङ ब्लोन, बलबहादुर राई, मिलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुस्कर कार्की, विश्व स्याङ्बो, सबिता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय ट्युबा, रत्न मंगल, टासी लामा, अजय लामा, पवन गोले र सबिता तामाङ लगायत कलाकारहरूको सामूहिक अभिनयले नाटकलाई गहिरो भावनात्मक उचाइमा पुर्याएको छ।
संगीत, कोरियोग्राफी र प्राविधिक संयोजन
नाटकको संगीत परिकल्पना आदित्य कटुवालले गरेका छन्। स्वरमा आनि छोइङ डोल्मा, सुरेश लामा र शुभलाल गलान तामाङको रहेको छ।
बासुरीमा संगीत लामा, टुङ्नामा प्रभात लो तामाङ, डमरु र घन्टीमा गेन्ला कोशिस वाईबा, तथा अन्य वाद्यसंयोजनले नाटकको ध्यानमय वातावरणलाई आकर्षित बनाएको छ।

कोरियोग्राफीमा मनिषा गोले र मणि के. राई, प्रकाशमा उमेश तामाङ, साउन्डमा रविन तामाङ, र भेषभूषामा सुजन परियारको ले गरेका छन्। मञ्च निर्माण मणिकुलुङ राई र टिमले गरेका हुन्।
पोस्टर डिजाइन सर्मिला देवी तामाङ, ग्राफिक डिजाइन विजय तामाङ ब्लोन, मल्टिमिडिया डिजाइन सौगातमान सिंह बस्नेत, श्रेयांक कंसकार र अमिर ताकाकार, फोटोग्राफी/भिडियोग्राफी प्रतिक राज खड्काले सम्हालेका छन्।
पापदेखि मुक्ति यात्रासम्म
‘मिलारेपा’ले जीवनमा गरिएका अपराध र त्यसको पश्चात्तापबीचको संघर्षलाई दार्शनिक दृष्टिबाट पुनर्व्याख्या गर्छ।
नाटकले “पाप र पीडाबाट मुक्ति पाउने मार्ग ध्यान, क्षमा र आत्मशुद्धिमा निहित हुन्छ” भन्ने सन्देश प्रस्तुत गर्छ।
मञ्चमा प्रस्तुत संवाद, नृत्य र संगीतले दर्शकलाई आत्ममन्थनमा डुबाउँछ। “जीवनका गल्तीहरू प्रायश्चित्त र साधनाद्वारा शुद्ध गर्न सकिन्छ,” भन्ने भावनालाई नाटकले जीवन्त र ध्यानमय रूपमा व्यक्त गरेको छ।
मञ्चन
नाटक कार्तिक १८ गतेदेखि मंसिर २१ गतेसम्म, सोमबार बाहेक हरेक दिन साँझ ५ः३० बजे मण्डला थिएटरमा मञ्चन हुनेछ।
शनिबार दिउँसो १ः०० बजे विशेष मञ्चन पनि रहनेछ।
मण्डला थिएटरमा प्रस्तुत ‘मिलारेपा’ नाटक केवल धार्मिक कथा होइन – यो मानव आत्माको शुद्धी, क्षमा र पुनर्जागरणको कलात्मक साधना हो। नेपाली रंगमञ्चमा ध्यान, दर्शन र मानवताको गहिरो संगम बोकेको प्रस्तुति बनेको छ।










