रसुवा । जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुदुगाउँ निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका छन् ।
आफ्नी माताको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराएका थिए ।
उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए ।
प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएको थियो । शनिबार धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्छामा उनी फेला परेका हुन् ।