हेटौँडा । जेनजी आन्दोलनका क्रममा हेटौँडामा भएको तोडफोड र आगजनी घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार बागमती प्रदेशसभा सचिवालय भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा सर्लाही बरथवा नगरपालिका–१ का २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने (रोमबहादुर घताने) लाई पक्राउ गरिएको हो।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको अभियोगमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूमाथि मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











