दोलखा । नेपाली कम्युनिष्ट पार्टीले दोलखामा पार्टी कार्यालय उद्घाटन तथा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ। शनिबार र्याली सहित उपस्थित नेता–कार्यकर्ताको उपस्थितिमा केन्द्रीय सदस्य गंगा कार्कीले कार्यालय उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कार्कीले जेन–जी आन्दोलनले समग्र नेपाली राजनीति नयाँ मोडमा प्रवेश गराएको टिप्पणी गरे। उनका अनुसार भदौ २३ को जेन–जी आन्दोलनले माओवादीले लामो समयदेखि उठाउँदै आएका भ्रष्टाचार अन्त्य, सुशासन, संविधान संशोधन लगायतका एजेन्डालाई राष्ट्रिय मुख्य विषयमा रूपान्तरण गरिदिएको छ।
कार्कीले भदौ २४ मा देशभर देखिएको अराजकतामय स्थितिले नेपाललाई साम्राज्यवादी हस्तक्षेपको खतरा थप बढाएको दाबी गर्दै “यस्तो अवस्थामा सबै कम्युनिष्ट पार्टीहरु एक ठाँउमा आएर साम्राज्यवादविरुद्ध संयुक्त रूपमा उभिनु आजको ऐतिहासिक आवश्यकता हो,” भने।
कार्यक्रममा मन्तव्य राख्दै केन्द्रीय सदस्य विशाल खड्काले थुप्रै कम्युनिष्ट पार्टीहरु विभाजित हुनुले जनतामा निराशा पैदा गरेको बताए। “जनताले भरोसा गुमाएको यही समयलाई चिर्न र पुनः आशा जगाउन नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको हो,” खड्काले भने।

अशोक दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई कमल श्रेष्ठ (ज्योती), अर्जुन योगी, महेन्द्र बहादुर कार्की, मुक्ति नारायण प्रधान, भरत दुलाल, चुनु केसी, बद्री चौलागाई, डम्बर बिक्रम कार्की, संगीता पाख्रिन, भीम दाहाल, भरत रोहण श्रेष्ठ, कल्याण दहाल, तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसी, मिन कुमार शिवाकोटी, युवराज खत्रीलगायतका नेताहरुले सम्बोधन गरेका थिए।
नेपाली कम्युनिष्ट पार्टी दोलखाले कार्यकर्ता भेटघाट तथा एकता अभियानलाई पालिका स्तरसम्म मंसिर २९ गते नौ वटा पालिकामा एक साथ विस्तार गर्ने जनाएको छ।










