काठमाडौँ । सशस्त्र द्वन्द्वमा आफ्ना बाबु गुमाएकी प्रीति पाख्रिनले २२ वर्षपछि पनि नपाएको न्यायबारे प्रधानमन्त्री तथा तत्कालीन द्वन्द्वकालीन नेतृत्वकर्ता प्रचण्डलाई सीधा, कठोर र भावुक प्रश्न गरेका छन्।
मंसिर १५ गते अर्थत आजकै दिन २२ वर्षअघि उनको जीवन एकाएक टुटेको थियो-“मेरो बाबाको न्यानो हात एकै क्षणमा सशस्त्र द्वन्द्वको आँधीले खोसेर लगेको दिन,” पाख्रिनले लेखेकी छन्।
बुद्धिमान पाख्रिन २०५४ सालमा जनविश्वासका आधारमा ठुलोपातल गा.वि.स. अध्यक्ष बनेका असल, शिक्षित र इमानदार सामाजिक सेवक रहेको स्मरण गर्दै उनले प्रश्न गरिन् । “एक असल नागरिक किन सशस्त्र राजनीति र रणनीतिक भाषणहरूको ‘मूल्य’ बन्नुपर्यो?”
पाख्रिनले प्रचण्डलाई युद्धका केवल पात्र होइन, निर्णयकर्ता पक्षका नेताका रूपमा राजनीतिक र नैतिक स्पष्टता दिनुपर्ने माग गरेकी छन्।
“राजनीतिक लक्ष्य प्राप्त गर्नु र एक असल नागरिकको ज्यान खोसिनु-के यसलाई इतिहासले न्याय मान्छ? युद्धमा मारिएका निर्दोषहरूको राजनीतिक जवाफदेहिता तपाईं कुन दिन दिनुहुन्छ?”
शान्ति–सम्झौता भइसके पनि पीडित परिवारका घाउ बाँच्नु पर्ने अवस्था र ‘माफी’ तथा ‘मूल्यांकन’को स्पष्ट ढाँचा नआएको भन्दै उनले नेतृत्वको नैतिक अस्थिरतामाथि प्रश्न उठाइन्।
उनले लेखेकी छन् । “शान्ति सम्झौतापछि पनि पीडितहरू अझै घाउ बोकेर बाँचिरहेका छन्। ‘माफी’ र ‘जवाफदेहिता’का आधार किन अझै अस्पष्ट छन्?”
युद्धलाई नयाँ पुस्तासामु ‘न्याययुक्त कथा’का रूपमा मात्र सुनाएर काँडेदार वास्तविकता लुकाउन नहुने बताउँदै उनले थपिन्
“हामी-पीडितका छोराछोरी-त्यो अध्याय भोगेका साक्षी हौँ।”
पाख्रिनले बुबाको सहनशीलता, सत्य र करुणाको शिक्षा आफूबाट कसैले खोस्न नसकेको बताइन्।
“बुबाजस्ता असल नागरिक कुनै पनि संघर्षको मूल्य हुनै सक्दैनन्, केवल राजनीतिक निर्णयकर्ताले उठाउने जिम्मेवारी बन्न सक्छ।”
२२ वर्षदेखि बुबाको आत्मालाई शान्ति दिने उत्तर खोजिरहनुपरेको पीडाको अन्तिम प्रश्न उनको यतिबेला पनि त्यसै छ—
“हामी छोरीहरूले २२ वर्षदेखि उत्तर खोज्दै छौँ, तर पाएको छैन। यसको सही उत्तर हामीले कहिले पाउँछौँ, प्रचण्डज्यू?”
उनले पार्टीको नाम परिवर्तन वा नयाँ राजनीतिक रूपान्तरणका बहानामा पुरानो युद्धकालीन जिम्मेवारी टार्न नपाइने स्पष्ट संकेत दिँदै लेखेकी छन् । “पार्टीको नाम फेर्दैमा सशस्त्र द्वन्द्वकालको जिम्मेवारी र जवाफदेहिताबाट भाग्न मिल्दैन- यो कुराको हेक्का होला हजुरलाई।”











