मकवानपुर । तामाङ समुदायको मौलिक इतिहास, संस्कार, संघर्ष र सामुदायिक पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘ह्याङ तामाङ’ मङ्सिर २० गते हेटौँडाको ओम्याक्स हलमा पहिलो विशेष शो सम्पन्न भयो। शोमा उपस्थित दर्शकको उत्साह, भावनात्मक संलग्नता र फिल्मले उठाएको मुद्दाप्रति देखिएको संवेदनशीलताबाट चलचित्रले समुदायभित्र ठूलो तरंग ल्याएको छ।
कथावस्तु : समाजको ‘छायाँ र वास्तविकता’
फिल्मको मूल धागो तामाङ समुदायको चुनावी विभाजन,इतिहासमा परेको दमन,गाई–गोरु प्रकरण जस्ता आरोप,प्रत्यारोपले पारेको सामाजिक असर,समुदायबीच एकताको अभाव,शिक्षा, स्वास्थ्य र अवसरका सवाल जस्ता जटिल र संवेदनशील विषयहरूलाई कलात्मक तर सीधा शैलीमा प्रस्तुत गरिएको छ। कथा केवल मनोरञ्जनका लागि होइन, समुदायलाई ‘अभिमुखित’ गराउने उद्देश्य बोकेको छ ।
फिल्मले तामाङ समाजको पीडा,संघर्ष, प्रेम, सांस्कृतिक उतार–चढाव, सामुदायिक चेतना जस्ता पाँच तहलाई एकैसाथ जोडेर गहिरो कथा निर्माण गरेको छ।
निर्देशन : निमा लामा तामाङको सहज तर प्रबल दृष्टि
निर्देशक निमा लामा तामाङले कथालाई स्थानीय बोली, व्यवहार र सांस्कृतिक परिवेशसमेत समेट्दै अत्यन्त यथार्थ ढङ्गले पर्दामा उतारेका छन्।
उनको निर्देशनमा कुनै पनि दृश्य अनावश्यक रूपमा लम्बिएको छैन,भावनात्मक दृश्यहरूमा नियोजित गहिराइ छ,समुदायको सामूहिक पीडालाई बिनासजावट प्रस्तुत गरिएको छ। संगीत, कथा लेखन र भावनात्मक धुन पनि निर्देशककै सिर्जना भएकाले फिल्ममा एकरूपता र स्वाभाविकता अझै बलियो देखिन्छ।
निर्माण पक्ष : प्रबल थिङ तामाङ र कार्साङ लामा दोङको बलियो समन्वय
फिल्मका निर्माता प्रबल थिङ तामाङ र सह–निर्माता कार्साङ लामा दोङले कथाको गम्भीरता, दृश्यको मौलिकता र प्रस्तुतीकरणमा कुनै सम्झौता नगरेको देखिन्छ। बजेटका हिसाबले तामाङ कथानक फिल्महरूमा देखिने सीमितता हुँदाहुँदै पनि उनीहरूले गुणस्तरीय सिनेमाटोग्राफी, सांस्कृतिक सेट–डिजाइन र लुभावन दृश्य प्रदान गरेका छन्।
सिनेमाटोग्राफी र टेक्निकल पक्ष : चलचित्रलाई ‘उचाइ’ दिने आधार
सिनेमाटोग्राफर तथा कलरिस्ट सूर्य लामाले तामाङ बस्ती, पहाड, प्राकृतिक दृश्य, चुलो–चौको, सामाजिक गतिविधि सबै दृश्यलाई अत्यन्तै ‘मूड–बेस्ड’ कलर टोनमा उतारेका छन्। क्यामेराको हिँडाइ, ड्रोन शट्सका माध्यमबाट पात्रको भावनालाई निकै प्रभावकारी बनाइएको छ।
फिल्म मुख्य भूमिकामा जय स्याङ्तान, अभि लामा, सिताराम गोले, अनिता गोले, कल्पना वाइवा र निर्मला मोक्तानको सशक्त अभिनय देख्न सकिन्छ। साथै प्रबल थिङ, पूजा लामा, राजकुमार स्याङ्तान, चन्द्रमाया दोङ, मङ्गल ग्याबा, आकास मोक्तान, छबी लामा बोम्जनलगायतको अभिनय देख्न सकिन्छ ।
फिल्मका गीत-संगीतमा शुभ तामाङ, सागर आले मगर, कार्साङ लामा दोङ, समर तामाङ, सुमिना लो, निर्मला घिसिङ र बबिता पाख्रिनका स्वर रहेको छ। शब्द, संगीत र भावनात्मक धुन निर्देशक निमा लामा तामाङकै सिर्जना भएकाले चलचित्र संगीतको दृष्टिले पनि विशेष बन्ने देखिन्छ। एरेन्ज कार्साङ लामा दोङले गरेका छन्।
फिल्म भित्रको सन्देश
किन समुदाय विभाजित हुँदै गयो ?,इतिहासका गलत आरोप–प्रत्यारोपले किन पिडित भइरह्यो ?,एकताविहीन समाजले कुन–कुन अवसर गुमायो ?,शिक्षा, स्वास्थ्य, राजनीतिक सहभागिता—किन आवश्यक छ ?,समुदायले आफैँलाई कसरी पहिचान दिन सक्छ ?
‘ह्याङ तामाङ’ केवल चलचित्र होइन- एक समुदायको इतिहास, वर्तमान समाजको द्वन्द्व, भविष्यको आकांक्षा, सांस्कृतिक पहिचानको खोज गरेका छन्।
फिल्मले दर्शकलाई केवल मनोरञ्जन होइन, समाजलाई फर्केर हेर्न बाध्य बनाउने ‘मिरर’ बनेको छ।












