आज तमु ल्होसार, गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्ष स्वागत

काठमाडौं । गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा तमु ल्होसार पर्व भव्य रूपमा मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिएको हो।
तमु ल्होसार गुरुङ समुदायको प्रमुख सांस्कृतिक पर्व हो, जसलाई नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाइन्छ। यो पर्व सूर्यको किरण र तापसँग सम्बन्धित रहेको विश्वास गरिन्छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप चाँडो पर्ने भएकाले पुस महिनामा तमु ल्होसार मनाइने परम्परा रहेको जानकारहरू बताउँछन्।
यसपछि क्रमशः तामाङ र शेर्पा समुदाय बसोबास गर्ने क्षेत्रमा सूर्यको ताप ढिलो आउने भएकाले माघ र फागुन महिनामा ल्होसार मनाइने विश्वास छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र त्यसपछि दिन लम्बिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्व रहेको बताइन्छ।
तमु ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। पर्वका अवसरमा राजधानीको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा गुरुङ समुदायका मानिसहरू परम्परागत तथा सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका छन्।
कार्यक्रममा गुरुङ समुदायका मौलिक सांस्कृतिक नृत्य, गीत तथा परिकारहरूको विशेष प्रदर्शनी गरिएको छ। आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा हजारौँ सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ।

SHARE