नाजिर हुसेनको निर्देशनमा नाटक ‘हरि हजुरबा’ मञ्चन हुँदै

नाटक ‘हरि हजुरबा’ मण्डला थिएटरमा पुस ४ गतेदेखि २८ गतेसम्म चल्ने भएको छ । अभिनेता नाजिर हुसेनको परिकल्पना, लेखन र निर्देशनमा रहेको यो नाटकमा मुख्य कलाकारको रुपमा विजय बराल र नाजिर हुसेन रहेका छन् ।

नाटकको निर्माण दयाहाङ राई र बुद्धि तामाङले गरेका हुन् । करिब एक दशकअगाडि आफूले लेखेको ४ लाइन कविताको भावलाई कथामा ढालेर नाटकको रुपमा तयार पारेको नाजिरले बताए । द्वन्द्व कालमा हराएकी नातिनी फर्कने आशमा कुरिरहेका हजुरबा र एक हुलाकीको अन्तरसम्बन्ध नाटकमा रहेको उनले जानकारी दिए।

सर्वाधिक व्यापार गर्न सफल ‘पूर्णबहादुरको सारंगी’का मुख्य अभिनेता रहेका बरालले फिल्ममा सफलता पाउँदैमा नाटक नगर्ने भन्ने नहुने बताए ।

आफूहरुको ब्राण्ड भनेको नाटक नै भएकाले नियमित अभ्यासका लागि पनि यो जरुरी रहेको उनको भनाइ छ ।

सुरुमा आफू निर्देशक मात्रै रहने भनेपनि मुख्य कलाकार विजय बरालको आग्रहले आफूले पनि अभिनय गरेको नाजिरले जानकारी दिए ।

SHARE