काभ्रे-२ मा रास्वपाका बदन भण्डारी फराकिलो मतान्तरसहित निर्वाचित

धुलिखेल । काभ्रेपलाञ्चोक क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बदन भण्डारी निर्वाचित भएका छन्।

घण्टी चुनाव चिन्हका भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गर्दै फराकिलो मतान्तरसहित विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत प्राप्त गरे भने नेकपा एमालेका अशोक ब्यन्जुले १३ हजार ९४० मत ल्याए।

त्यस्तै, नेकपाकी उम्मेदवार बसुन्धरा हुमागाईंले ८ हजार १०७ मत प्राप्त गरेकी छन्।

निर्वाचित भण्डारीलाई मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले विजयी घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेका थिए।

यसअघि एमाले नेता गोकुल बाँस्कोटाले लगातार दुई पटक जितेको यो क्षेत्र एमालेको प्रभाव क्षेत्र मानिन्थ्यो। तर यसपटक रास्वपाले उक्त गढ तोड्दै काभ्रे–२ मा पहिलो पटक विजय हासिल गरेको हो।