बालेन प्रधानमन्त्री : नयाँ अनुहारसहित मन्त्रिपरिषद् गठन

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताको रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान २०७२ जारी भएपछि उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक हो। साथै, मधेशी समुदायका व्यक्ति प्रधानमन्त्री बन्ने इतिहास पनि पहिलोपटक कायम भएको छ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ को निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेश गर्दै प्रधानमन्त्री बनेका हुन्। झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

को-को बने मन्त्री?

प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी समेत आफैं सम्हालेका छन्।

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने तेस्रो वरीयताका सुधन गुरुङले गृह मन्त्रालय सम्हालेका छन्।

शिशिर खनाल परराष्ट्र मन्त्री नियुक्त भएका छन् भने सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय विराजभक्त श्रेष्ठले सम्हालेका छन् भने खड्कराज पौडेल पर्यटन मन्त्री बनेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेललाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता नियुक्त भएकी छन्।

सञ्चार मन्त्रालय विक्रम तिमिल्सिनाले सम्हालेका छन्। प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम, रोजगार मन्त्री र सोविता गौतम कानुन मन्त्री बनेका छन्।

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालय गीता चौधरीले सम्हालेकी छन् भने महिला, बालबालिका मन्त्रालय सीता वादीलाई दिइएको छ।

नयाँ प्रधानमन्त्रीसँगै बनेको मन्त्रिपरिषद्ले अब देशको शासन सञ्चालनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।