लोक दोहोरी स्टारको उपाधि निशा लामालाई

काठमाडौँ । नेपाली साङ्गीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार’ को उपाधि निशा लामाले जितेकी छन्।

राजधानीस्थित राष्ट्रिय नाचघरमा मङ्गलबार अबेर साँझ सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लामाले शीर्ष उपाधि हात पारिन्। उपाधिसँगै उनले १० लाख रुपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरिन्।

फाइनलमा मानव रावत क्षेत्री दोस्रो तथा लिलबहादुर गुरुङ तेस्रो घोषित भए। विभिन्न चरण पार गर्दै आएका शीर्ष ८ प्रतिस्पर्धीबीच अन्तिम स्पर्धा गरिएको थियो।

एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको शोको निर्देशन माधवराज खरेलले गरेका थिए। कार्यक्रम आयोजक समितिका प्रमुख तथा निर्माता डेविल सिंह राजपूत, यादवबहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रमको व्यवस्थापन शैलेश नेपालीले सम्हालेका थिए।

फाइनलको निर्णायकमा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर, लोकदोहोरी गायक राजु ढकाल, चन्द्र शर्मा र अमृत खाती सहभागी थिए।