काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले दाबी प्रस्तुत गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुख पदमा महिला उम्मेदवार उठाउने घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले सभामुख निर्विरोध चयन भएकोमा बधाई व्यक्त गर्दै अब उपसभामुख चयनतर्फ ध्यान केन्द्रित हुने बताएका छन्। “सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ, अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेदवार खडा गर्दैछौँ,” उनले लेखेका छन्।
साम्पाङले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समर्थन पाउने अपेक्षा समेत व्यक्त गरेका छन्। उनले नयाँ दलहरूले नयाँ विकल्पलाई समर्थन गर्ने कि पुरानै शक्तितर्फ फर्किने भन्ने प्रश्न उठाउँदै लेखेका छन्, “हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई! ७ भोट आउँछ कि १८९?”
प्रतिनिधिसभामा उपसभामुख चयनका लागि राजनीतिक दलहरूबीच आन्तरिक छलफल र रणनीति तीव्र भइरहेको बेला श्रम संस्कृति पार्टीको यो घोषणाले नयाँ समीकरणको संकेत गरेको छ।









