काठमाडौं । नेपालमा पछिल्लो समय स्वास्थ्य उपचारको खर्च दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ। निजी अस्पताल तथा क्लिनिकमा सामान्य जाँचदेखि उपचारसम्म महँगो बन्दै जाँदा सर्वसाधारण नागरिक प्रत्यक्ष मारमा परिरहेका छन्। यस्तो अवस्थामा समुदायस्तरमै सञ्चालन भइरहेका सामुदायिक फार्मेसीहरू भने सर्वसाधारणका लागि राहतको विकल्प बनेका छन्।
तुल्सीराम लिम्बुको नेतृत्वमा सञ्चालनमा रहेको नोगेन फार्मेसीले विशेषगरी सामान्य रोगहरूको उपचार तथा औषधि सेवा सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको छ। लिम्बुका अनुसार, “सबै नागरिक महँगो अस्पताल धाउन सक्ने अवस्थामा छैनन्, त्यसैले सामान्य स्वास्थ्य समस्याको समाधान समुदायमै उपलब्ध गराउनु हाम्रो उद्देश्य हो।”
सामुदायिक फार्मेसीहरूमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, सानो चोटपटकजस्ता सामान्य समस्याहरूको उपचार सहज रूपमा हुने गरेको छ। साथै, आवश्यक परेमा बिरामीलाई ठूला स्वास्थ्य संस्थामा सिफारिस गर्ने व्यवस्था पनि गरिएको छ।









