काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुमा समेत असर पर्ने भन्दै उनीहरूले सरकारसँग तत्काल मूल्य घटाउन माग गरेका हुन्।
राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासनविरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले पेट्रोलमा लगाइएको कर घटाउन तथा खारेज गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले महँगीको मार नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘महँगीको मार बन्द गर’, ‘पेट्रोल कर कम गर’, ‘मूल्य घटाएर जनतालाई राहत देउ’ र ‘पेट्रोलमा कर खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रदर्शनकारीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको भन्दै सरकारसँग शीघ्र हस्तक्षेपको माग गरेका छन्।









