संयुक्त राज्य अमेरिका ले क्युबाले रूसको पक्षमा युक्रेनविरुद्ध लड्न पाँच हजारसम्म लडाकु पठाएको दाबी गरेको छ। डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिकी संसदलाई दिएको जानकारीअनुसार क्युबाले कुटनीतिक तथा राजनीतिक समर्थनसँगै प्रत्यक्ष रूपमा लडाकुहरू समेत परिचालन गरेको उल्लेख गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनलाई उद्धृत गर्दै एक्सिले युक्रेनमा रुसी सैन्य कारबाहीलाई समर्थन गर्ने विदेशी लडाकुहरूमध्ये क्युबाली नागरिकहरू प्रमुख समूहका रूपमा देखिएको जनाएको छ। क्युबाले भने आधिकारिक रूपमा लडाकु पठाएको पुष्टि नगरे पनि त्यस्तो गतिविधिलाई कम्युनिस्ट सरकारले सहजीकरण गरेको अमेरिकी दाबी छ।
यसअघि उत्तर कोरियाले पनि रूसको समर्थनमा युक्रेन युद्धमा हजारौं सैनिक पठाएको खुलासा भइसकेको थियो।
यस घटनाक्रमसँगै डोनाल्ड ट्रम्प प्रशासन र क्युबाबीच तनाव बढ्दै गएको छ। ट्रम्प प्रशासनले क्युबामा सत्ता परिवर्तनको प्रयास गरिरहेको आरोप लागिरहँदा क्युबाले रूसलाई सहयोग गरेको विषय सार्वजनिक भएको हो।
गत डिसेम्बर अन्त्यतिर ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेको दाबी गरिएको थियो। त्यसपछि क्युबामाथि पनि दबाब बढाइएको विश्लेषण गरिएको छ। अमेरिकाले जनवरीमा भेनेजुएलाबाट क्युबा जाने तेल आपूर्ति रोकेको थियो।
यसैबीच, इरानसँग युद्ध सुरु गरेपछि केही समय ट्रम्प प्रशासनको ध्यान अन्यत्र केन्द्रित भए पनि हाल पुनः क्युबातर्फ चासो बढेको संकेत देखिएको छ। केही साताअघि ट्रम्पले आफूले क्युबामा ‘जे चाह्यो त्यही गर्न सक्ने’ अभिव्यक्ति दिएका थिए।
उता क्युबाका राष्ट्रपति मिगुएल डियाज-कनेलले अमेरिकाले लगाएको ऊर्जा नाकाबन्दीबारे वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको बताएका छन्। द न्यूयोर्क टाइम्सले पनि ट्रम्प प्रशासनले क्युबामा नेतृत्व परिवर्तन गराउन खोजिरहेको समाचार प्रकाशित गरेको छ।
भेनेजुएलामा मदुरोलाई हटाएर उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई सत्तामा ल्याएजस्तै क्युबामा पनि सत्ता हस्तान्तरणको प्रयास हुन सक्ने अनुमान अमेरिकी सञ्चारमाध्यमहरूले गरेका छन्।









