उपचार अभावमा एक महिला खोरमा  थुनिएर बस्न बाध्य

उपचार अभावमा खोटाङमा एक महिला खोरमा  थुनिएर बस्न बाध्य भएकी छिन् । घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि अस्पताल लैजान नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलाकी ३० वर्षीया फुर्दिकु शेर्पा खोरमा थुनिनुपरेको हो ।

डेढ महिनाअघिसम्म शेर्पाको दैनिकी सामान्य थियो तर अचानक बानी व्यवहारमा परिवर्तन आएपछि अहिले आँगनमा काठको खोर बनाएर उहाँलाई थुनेर राखिएको छ । परिवारका सदस्यसहित भेटिएका जोसुकैलाई ढुङ्गा र हतियारले आक्रमण गर्ने, सामान फुटाइदिने गरेपछि बाध्य भएर थुनेर राखिएको बुवा पेमा शेर्पा र आमा निम्ले शेर्पाले बताउनुभयो । परिवारका सदस्यले खोरभित्रै खाना खाजा दिने गरेका छन् ।

हाल मानसिक रूपमा अस्वस्थ शेर्पा विवाहित हुनुहुन्छ । उहाँको छ वर्षको एउटा छोरा छन् । श्रीमान्को भने मृत्यु भइसकेको छ । श्रीमान्को मृत्यु भएपछि मानसिक रूपमा विचलित भएकी फुर्दिकुले करिब एक वर्षपछि पूरै होस गुमाउनुभयो । श्रीमान्को घरतिरकाले नहेरेपछि उहाँलाई बुवाले ल्याएर माइतीघर नुनथलामा नै राख्दै आउनुभएको हो ।

शेर्पामा यस्तो समस्या देखिएको यो पहिलो पटक होइन । कक्षा १० मा अध्ययन गर्दा नै समस्या देखिएर उपचारपछि ठिक भएर भोजपुरका दाजाङ शेर्पासँग प्रेम गरेर मागी विवाह भयो । शेर्पा दम्पतीबाट एक छोराको जन्म पनि भयो । अहिले छोरा कक्षा तीनमा अध्ययन गर्दै छन् ।

करिब तीन वर्षअघि पाटन अस्पताल लगेर औषधी उपचार गरेपछि ठिक भएकी शेर्पामा अहिले पुनः सोही समस्या देखिएको हो । तेस्रो पटक गत माघ ३ गतेदेखि शेर्पामा यस्तो समस्या देखिएको हो ।

अस्पतालले दिएको पहिलेको औषधीको बिल अनुसार अहिले औषधी ल्याएर खुवाइरहेको उहाँ बताउनुहुन्छ तर अस्पताल नै लान सक्ने अवस्था भने परिवारमा छैन । आमा, बुवामा पनि सोही प्रकारको समस्या आएर निको भएको थियो ।

SHARE