नेपाली कांग्रेस भित्रको पूर्णबहादुर खड्का पक्षले पार्टीको वैधानिकतासम्बन्धी सर्वोच्च अदालत को फैसलालाई स्वीकार गर्ने निर्णय गरेको छ।
शनिबार गोल्फुटारस्थित खड्काकै निवासमा बसेको अनौपचारिक छलफलपछि नेता मीन विश्वकर्मा ले अदालतको निर्णयलाई स्वीकार गर्दै अघि बढ्ने निष्कर्ष निकालिएको जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले भने, “पर्याप्त असन्तुष्टिका आधारहरू हुँदाहुँदै पनि फैसलाले आधार मानेका विभिन्न विषयहरू विरोधाभासपूर्ण र विवादास्पद छन्। तर पनि त्यसलाई स्वीकार गर्ने विषयमा छलफल भएको छ।”
उनका अनुसार कांग्रेसले विधिको शासन, शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने परम्परा अवलम्बन गर्दै आएकोले असन्तुष्टि हुँदाहुँदै पनि अदालतको निर्णय स्वीकार गर्ने निष्कर्षमा पुगिएको हो।
विश्वकर्माले उक्त छलफल अनौपचारिक रहेको र नेताहरूले आ–आफ्ना धारणा राखेको बताए। उनले आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा निरन्तर छलफल गरिने जानकारी दिए।
“देशभरका नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गरेर निष्कर्षमा पुग्ने प्रयास हुनेछ, जसका लागि केही समय लाग्न सक्छ,” उनले भने।
यसअघि शुक्रबार सर्वोच्च अदालत का न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौला को संयुक्त इजलासले निर्वाचन आयोग को निर्णय सदर गर्दै शेरबहादुर देउवा र खड्का पक्षको रिट खारेज गरेको थियो।
खड्का पक्षले आइतबार पनि अनौपचारिक छलफललाई निरन्तरता दिने जनाएको छ।









