दोलखा। आकस्मिक अवस्थामा सवारीसाधन नपाएर स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने जिरीका नागरिकलाई लक्षित गर्दै एक युवाले असोज १५ गतेदेखि निःशुल्क आकस्मिक यातायात सेवा सञ्चालन गर्ने घोषणा गरेका छन्।
जिरीका युवा तथा पत्रकार नवीन सुनुवारले आफ्नै सवारीसाधन प्रयोग गरी जिरी नगरपालिका क्षेत्रका नागरिकलाई आकस्मिक अवस्थामा निःशुल्क यातायात सेवा उपलब्ध गराउने बताएका हुन्। तत्काल सवारीसाधन आवश्यक पर्ने बिरामी, गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा घाइतेलाई सेवामा प्राथमिकता दिइने उनले बताए।
आकस्मिक अवस्थामा अस्पताल वा स्वास्थ्य संस्थासम्म पुग्न सवारीसाधनको अभाव हुने समस्या जिरीका ग्रामीण बस्तीमा अझै रहेको भन्दै सुनुवारले त्यसलाई केही हदसम्म सहज बनाउने उद्देश्यले अभियान सुरु गर्न लागेको बताए।
‘जहाँ समस्या, त्यहाँ नवीन’ भन्ने भावनासहित सुरु गर्न लागिएको अभियानको मुख्य उद्देश्य यातायात अभावका कारण नागरिकले समयमै स्वास्थ्य सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्ने रहेको उनले बताए।
“आकस्मिक अवस्थामा सवारी नपाएर बिरामीले समयमै उपचार पाउन नसक्ने अवस्था नहोस् भन्ने उद्देश्यले यो सेवा सुरु गर्न लागेको हुँ,” सुनुवारले भने, “आफ्नो क्षमताले भ्याएसम्म नागरिकलाई अप्ठ्यारो परेको समयमा साथ दिने प्रयास हुनेछ।”
उनका अनुसार आकस्मिक अवस्थामा परेका नागरिकले फोनमार्फत सम्पर्क गरी सेवा लिन सक्नेछन्। सेवा विशेषगरी तत्काल स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने अवस्थालाई लक्षित गरिएको छ।
जिरी नगरपालिका क्षेत्रका नागरिकलाई लक्षित गरी सुरु गर्न लागिएको यो अभियान व्यक्तिगत पहलमा सञ्चालन हुनेछ। नियमित सार्वजनिक यातायातको पहुँच नपुगेका वा आकस्मिक समयमा सवारीसाधन उपलब्ध हुन नसक्ने अवस्थामा यसले तत्कालीन राहत पुर्याउने अपेक्षा गरिएको छ।
सुनुवारले सेवा लिन चाहने नागरिकले आकस्मिक अवस्थाबारे जानकारी गराएर सम्पर्क गर्न सक्ने बताएका छन्। सेवा सञ्चालनसँगै यसको प्रभावकारिता र आवश्यकताका आधारमा अभियानलाई थप व्यवस्थित बनाउने उनको भनाइ छ।
आकस्मिक स्वास्थ्य सेवाका लागि समयमै अस्पताल पुग्नु महत्वपूर्ण हुने अवस्थामा व्यक्तिगत पहलबाट सुरु हुन लागेको निःशुल्क यातायात सेवाले जिरीका नागरिकका लागि आपत्कालीन समयमा वैकल्पिक यातायातको माध्यम उपलब्ध गराउनेछ।









