काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना जनप्रतिनिधिहरूलाई लक्षित गर्दै दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गर्ने भएको छ। आगामी बजेट अधिवेशनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले दुईदिने प्रशिक्षण आयोजना गरिएको पार्टीले जनाएको छ।
रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार आज र भोलि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा संसद्मा प्रस्तुत हुने विधेयक, बजेटमाथिको छलफल, संवैधानिक प्रक्रिया तथा संसदीय अभ्यासका विषयमा अभिमुखीकरण गराइने बताइएको छ।
यसअघि रास्वपाले चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा जनप्रतिनिधिहरूका लागि आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा विषयविज्ञसहित पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए। तर, वरिष्ठ नेता बालेन शाह सहभागी नभएको विषयलाई लिएर त्यतिबेला आलोचना भएको थियो।
गत फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो। निर्वाचित अधिकांश जनप्रतिनिधि राजनीतिक, संवैधानिक तथा कानुनी अभ्यासमा नयाँ भएकाले नियमित प्रशिक्षणले संसदीय भूमिकालाई प्रभावकारी बनाउन सहयोग पुग्ने पार्टीको विश्वास छ।








